Thaha

Sunday 22 September - 5:20 am NST

५८ जना अधिकृतस्तरका सरकारी कर्मचारीलाई सामान्य  प्रशासनले कारबाही थाल्यो


काठमाडौं, २ फागुन । काजमा खटिएका अधिकृत तहका ५८ जना कर्मचारीमाथि सामान्य प्रशासन मन्त्रालयले कारवाही प्रक्रिया अघि बढाएको छ । आकर्षक मानिने सरकारी कार्यालयमा काजमा रहेकालाई महालेखाले सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै दोस्रो र तेस्रो तहका अधिकृत तहका ५८ कर्मचारीलाई काज खटिएकै मितिदेखि सरुवा गरिदिन सहमति मागेको थियो । तर, सामान्य प्रशासन मन्त्रालयले उनीहरुलाई सरुवा अनुमति नदिने निर्णय गरेको छ । कारवाहीमा पर्नेहरु सबै महालेखा नियन्त्रक कार्यालयका छन् । महालेखाबाट विभिन्न निकायमा सरुवाका लागि सहमति मागिएका ती कर्मचारीहरु बढीमा डेढ बर्ष अघिदेखि सडक आयोजना लगायतका आकर्षक ठाउँमा नियमविपरीत काजमा खटिएका छन् । निजामति सेवा ऐन ०४९ को दफा १८ (क) मा निजामति कर्मचारीलाई निज कार्यरत रहेको मन्त्रालय, सचिवालय, आयोग, विभाग वा कार्यालयबाट सोही निकायको काममा मात्र अन्य स्थानमा काज खटाउन सकिने र यसरी काज खटाउँदा एक वर्षमा तीन महिनाभन्दा बढी अवधिको काज खटाउन नपाइने व्यवस्था छ । सामान्य प्रशासन मन्त्री रेखा शर्माले हालै नियम विपरित काजमा खटाइएका कर्मचारीहरुलाई फिर्ता गराउने निर्णय गर्नुभएको थियो ।